झापाको अर्जुनधारा –बिर्तामोड सडकमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका थिए।

आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दास पुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो । ठेकेदार संस्थाले मंगलवारसम्ममा डेढ किलोमिटरको त्यस खण्ड पुरा गर्ने आश्वासन दिएको छ

सडक निर्माण गर्नका लागि प्रवीण मैनाचुली शान्ति जेभीले ठेक्का पाएको थियो । समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले जनाएको छ । तर, सभामुख देवराज घिमिरेको पहलमा आंशिक रकम निकासा भएपछि पहिलो चरणमा १.५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न लागिएको उनले बताए । गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी नगरेको बताइएको छ । १५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६.२ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दास पुलसम्म दुई लेन, दास पुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । यसअघि सडकमा सवारीसाधन चलाउन नसक्ने गरी खाल्डा खुल्डी भएका कारण सवारीसाधनहरू दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दबाब दिने उद्देश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए । सडक अवरुद्ध भएपछि सवारीसाधनले लामो समयदेखि वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

Similar Posts