सिजनमै सुनको गहनाको व्यापार घटेको छ । मूल्यमा ठूलो उतारचढावले गहनाको बिक्री घटेको व्यवसायीले बताएका हुन् । गहना व्यवसायीका लागि वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन उत्सवको महिना हो । यी महिनामा धेरै विवाह हुने भएकाले गहनाको व्यापार अत्यधिक हुन्छ ।दैनिक ४५ किलोभन्दा बढी सुनका गहना बिक्री हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक छ । तर, यी महिनामै सुनका गहनाको व्यापार घटेको व्यवसायीले बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार यी महिनामध्ये सबैभन्दा धेरै फागुनमा सुन बिक्री हुन्छ । त्यसपछि वैशाख र माघ महिना हो । ‘फागुनमा दैनिक ५० किलोभन्दा बढी नै सुन बिक्री हुन्थ्यो । त्यसपछि वैशाख र माघमा दैनिक ४५ किलो बढी सुनका गहना बिक्री हुन्थ्यो,’ शाक्यले भने, ‘तर यसपालि बजारको अवस्था फरक रह्यो । वैशाखमा धेरै लगन भए पनि सुनका गहना बिक्री भएन ।’विगतमा लगनका बेला गहना पसलमा सर्वसाधारणको भीड हुन्थ्यो । तर यसपालि गहना पसल सुनसान जस्तै रहे । केही गहना पसलमा सामान्य भीड देखिए पनि पुरानो गहना बिक्री गर्न आएको व्यवसायीको भनाइ छ । बिहेका लागि नभई नहुनेले पुरानो गहनामा थोरै थपेर गहना बनाएको शाक्यले जनाए । यसको एउटै कारण सुनको मूल्यमा ठूलो उतारचढाव रहेको व्यवसायी बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा भइरहेको उथलपुथलले पछिल्लो समय सुन बजार धेरै प्रभावित बनेको छ । आर्थिक र राजनीतिक उथलपुथलले पछिल्लो समय सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । सुरक्षित लगानीका रूपमा मानिने सुनमा लगानी बढ्दा अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा पनि रेकर्ड ब्रेक भएको थियो ।
