झापा: गृहमन्त्री सुदन गुरुङको झापा निरीक्षणका क्रममा एक स्थानीय महिलाले सीमा नाकामा भइरहेको तस्करीबारे प्रत्यक्ष गुनासो गरेपछि प्रहरी संगठनभित्र ठूलो तरंग फैलिएको छ। स्थानीयको सोझो उजुरीपछि काँकडभिट्टा सीमा क्षेत्रमा कार्यरत उच्च प्रहरी अधिकृतसहित ११ जनामाथि गम्भीर छानबिन सुरु गरिएको छ।
अनुसन्धानमा तानिए उच्च अधिकारीहरू
प्रहरी स्रोतका अनुसार यसरी अनुसन्धानको दायरामा तानिनेमा दुईजना प्रहरी नायब उपरीक्षक (डीएसपी) समेत रहेका छन्।
निशेष चापागाईं: इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी
विकास थापा: बोर्डर आउट पोस्ट (बिओपी), काँकडभिट्टाका डीएसपी
यी दुई उच्च अधिकारीसहित सादा पोशाकमा खटिने अन्य प्रहरी कर्मचारी गरी जम्मा ११ जनामाथि छानबिन भइरहेको छ। अनुसन्धानलाई पारदर्शी र प्रमाणमुखी बनाउन उनीहरूको मोबाइल फोन नियन्त्रणमा लिइएको छ। आरोपितहरूलाई मुख्यालयमै तानेर बयान लिने र कल डिटेल्सलगायतका प्राविधिक प्रमाणहरूको विश्लेषण गर्ने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पहिलेदेखि नै थियो तस्कर–प्रहरी साँठगाँठको शंका
सीमा क्षेत्रमा प्रहरी र तस्करबीचको मिलेमतोको चर्चा यो नै पहिलो भने होइन। यसअघि सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले पनि तस्करी समूहसँग साँठगाँठ गरी अवैध असुली गरेको गम्भीर आरोपमा झापामा कार्यरत तीन जना ‘घुमुवा’ (सादा पोशाकका सशस्त्र प्रहरी) लाई काठमाडौं झिकाएर अनुसन्धान थालिसकेको छ।
सुरक्षा निकायको आन्तरिक निगरानीमा कडाइ
पछिल्लो समय कोशी प्रदेशका विभिन्न सीमा नाकाहरूमा तस्करी नियन्त्रणका नाममा खटिएका सुरक्षाकर्मी नै आर्थिक प्रलोभनमा पर्ने गरेको गुनासो व्यापक बन्दै गएको थियो। जनस्तरबाटै प्रहरी–तस्कर मिलेमतोको लगातार गुनासो आउन थालेपछि अहिले समग्र सुरक्षा निकायले आफ्नो आन्तरिक अनुसन्धान र निगरानी संयन्त्रलाई निकै कडा बनाएको छ। गृहमन्त्रीकै अगाडि स्थानीयले यथार्थ राखेपछि भने प्रहरी प्रधान कार्यालय एक्सनमा उत्रिएको हो। #news
