जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू गाउँ–गाउँ पुगेर मतदाता फकाउने अभियानमा जुटेका छन् भने उम्मेदवार सिफारिसको क्रम पनि तीव्र बनेको छ।

यसैक्रममा इलाम क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट जुझारु युवा नेता नगेन्द्र बुढाथोकीको नाम प्रतिनिधि सभाको उम्मेदवारका रूपमा सिफारिस भएसँगै इलामको राजनीतिक वृत्तमा विशेष तरङ्ग पैदा भएको छ।

पछिल्लो समय युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग चर्किँदै गएका बेला बुढाथोकीको नाम सिफारिस हुनु स्थानीय युवाहरूका लागि उत्साहजनक बनेको छ। उनीहरू बुढाथोकीलाई केवल उम्मेदवार सिफारिसमै सीमित नराखी प्रत्यक्ष उम्मेदवार बनाइनुपर्ने मागसहित पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन्।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० मा जन्मिएका बुढाथोकी वि.सं. २०५९ सालदेखि निरन्तर रूपमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। क्षेत्रीय प्रतिनिधिदेखि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी संगठन निर्माण र कार्यकर्ता व्यवस्थापनमा अनुभवी मानिन्छन्।

राजनीतिसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय बुढाथोकीलाई स्थानीयवासीहरूले दिनदुःखीको असल सारथीका रूपमा चिन्ने गरेका छन्। गाउँघरमा आपतविपत पर्दा अग्रसर भएर सहयोग गर्ने उनको स्वभाव छ। आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई अस्पताल पुर्‍याउनेदेखि उपचारपछि घरसम्म पुर्‍याउने कार्यमा उनी सधैं अगाडि देखिने गरेका छन्।

उनकै सक्रियतामा केही समयअघि इलामको मालिमस्थित सिद्धिघाटको पुनर्निर्माण, विभिन्न विद्यालयहरूमा रङ्गरोकन, तथा खेलकुद सामग्री वितरण जस्ता सामाजिक कार्यहरू सम्पन्न भएका थिए।

युवा जोश, संगठनात्मक अनुभव र सामाजिक सेवाको पृष्ठभूमि बोकेका नगेन्द्र बुढाथोकीको उम्मेदवारीले इलाम क्षेत्र नं. १ को आगामी प्रतिनिधि सभाको निर्वाचनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

Similar Posts