दसैं नेपाली सनातन धर्मावलम्बीहरूको प्रमुख चाड हो । यसलाई विजयादशमी, बडादसैं, मोहनी दशहरा आदि विभिन्न नामले सम्बोधन गरिन्छ ।

शास्त्रमा उल्लेख भएअनुसार वर्षमा चार पटक दसैं मनाउने चलन रहेछ । ऋतुका हिसाबले वसन्त ऋतुको चैत महिनामा पर्ने चैतेदसैं र शरदऋतुको असोज–कात्तिकमा पर्ने ठूलो दसैं आजसम्म पनि शास्त्रीय परम्परानुसार नै मनाइन्छ । शरद ऋतुमा पर्ने भएकाले शारदीय दसैं पनि भनिन्छ । असोज शुक्लपक्ष प्रतिपदादेखि पूर्णिमासम्म जम्मा १५ दिन व्रत, अनुष्ठान, पूजापाठ र मान्यजनकहाँ गएर आशीर्वाद ग्रहण गर्ने, देवीलाई प्रसन्न बनाएर शक्ति आर्जन गर्ने चाड हो दसैं । 

धार्मिक ग्रन्थ

सनातन धर्मावलम्बीका थुप्रै लिखित शास्त्र छन् । सनातनीहरूले गर्ने सम्पूर्ण कर्मकाण्ड, संस्कार, पूजाआजा र उत्सवको कुनै न कुनै रूपमा शास्त्रमा उल्लेख छ । देवीको स्तुति गरिएको, वन्दना गरिएको, कठोर तपस्यापछि वरदान प्राप्त गरेका घटनालाई प्राचीन शास्त्रमा संवाद, प्रश्नोत्तर, कथा, पटकथाका रूपमा प्रस्तुत गरिएको छ । दसैंका बेला चण्डी र रामायण दुवै पाठ गर्ने प्रचलन भए पनि पूजाकोठामा जमरा स्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी) पाठ गरिन्छ ।

चण्डी मार्कण्डेय पुराणको एक अंश हो । यसमा ७०० श्लोक भएकाले सप्तशती चण्डी भन्ने चलन छ । ऋषि मार्कण्डेयले धर्मपंक्षी र आफैले विभिन्न विषयमा प्रकाश पार्नुभएकाले यो पुराणलाई मार्कण्डेय पुराण भनिएको हो । यसमा पाँच भाग, १३७ अध्याय र नौ हजार श्लोकमा विविध विषयसँगै दुर्गाको महत्ता गाइएको छ । पहिलो भागमा जैमिनी ऋषिले महाभारतका केही घटनाका बारेमा सोधेका प्रश्नको उत्तर धर्मपंक्षीले दिएका छन् । दोस्रो भागमा सृष्टि, उत्पत्ति, प्राणीको जन्म र पुनर्जन्मबारे प्रकाश पारिएको छ ।

तेस्रो भागमा मार्कण्डेयले आफ्ना शिष्यलाई सूर्यको उपासनाको महत्व र विधि बताउनुभएको छ । चौथो भागमा देवीको उपासना, दुर्गा चरित्र, आसुरी प्रवृत्तिमाथि सत्यको विजय, सम्पूर्ण देवताको तेजबाट देवीको उत्पत्ति आदि विषयमा प्रकाश पारिएको छ । पाँचौं भागमा विभिन्न राजवंशको वंशावली वर्णन छ । यसरी पाँच भागमा विभाजन गरिएको मार्कण्डेय पुराणको चौथो भाग दुर्गा सप्तशती हो । चण्डीमा आधारित भएर चण्डीमाहात्म्य र चण्डीशतक ग्रन्थ क्रमशः छैटौं र सातौं शताब्दीमा रचना गरेको मानिन्छ ।

देवीको पूजा विधान र महिमाबारे विभिन्न समयमा विविध पुराण लेखिएका छन् । जसमध्ये कालिका पुराण, देवी पुराणका आधारमा दुर्गाभक्तितरंगिणी, नवरात्र प्रदीप, दुर्गापूजा प्रयोग तत्व आदि महत्वपूर्ण मानिन्छ । हरिवंशको विष्णु पर्वअन्तर्गत रहेको आर्यादेवीको स्तुति पनि देवी पूजामा वा आपद्विपद्को बेलामा पाठ गर्ने चलन छ ।

दुर्गा पूजा विधान

दसैंमा १५ दिनसम्म गरिने देवीको पूजाविधान र प्रमुख दिनका बारेमा लिखित निर्देशन पाइन्छ । घटस्थापना, सप्तमी, अष्टमी, नवमी, दशमी र कोजाग्रत पूर्णिमामा विभिन्न विधानले पूजा गरिन्छ । 

घटस्थापना

दसैंको पहिलो दिन घटस्थापनामा पूजा कोठा, मठमन्दिर, दसैंघरमा दियो, कलश, गणेशसहित नवदुर्गाको आह्वान गरिन्छ । धान–चामलमाथि स्थापना गरिएको कलशमा महालक्ष्मी, महासरस्वती र महाकालीको पूजा गरिन्छ । सम्पूर्ण समुद्र, नदी, तीर्थ, बादललाई कलशमा विराजमान हुन भनी स्तुति गरिन्छ ।

तन्त्रसार नामक ग्रन्थमा कलशको निर्माण विधि विस्तृत रूपमा वर्णन गरिएको छ । १६ अंगुलको उचाइ, ३६ अंगुलको मध्यभाग, ८ अंगुलको मुख र ५० अंगुलको पेट भएको कलश सुन, चाँदी र तामाबाट बनाउने विधानको उल्लेख छ । तन्त्रसारमै माटोबाट निर्मित घडा पवित्र र उत्तम घडा हो भनिएको छ ।

घटस्थापनाका दिन माटो, बालुवामा मन्त्र उच्चारणसहित छरिने जौ, गहुँ र मकैलाई जमरा भनिन्छ । जमरालाई जमरा देवीका रूपमा पूजा गरिन्छ र मान्यजनका हातबाट टीका ग्रहण गर्दा प्रसादस्वरूप शिरमा लगाइन्छ । देवी दुर्गाका विविध स्वरूपलाई विश्वका अन्य स्थानमा बस्ने सबै हिन्दूले पूजा गर्छन् । जमरा स्थापना र ग्रहण गर्ने चलन भने नेपालीहरूको मात्रै हो । 

सप्तमी

जमरा राखेको सातौं दिन अर्थात् फूलपातीका दिन विभिन्न धार्मिक कार्य गरिन्छ । नौ प्रकारका फूलपाती सप्तमीको दिनमै शुभ साइत पारी पूजाकोठामा भित्र्याउने चलन छ । धार्मिक ग्रन्थमा नवपत्रिकाका केही नाम छन्–केराको बोट, घर हलेदो र वन हलेदोको बोट, जयन्ती फूल, बेल, दारिम, अशोक, मानवृक्ष, धानको बाला आदि । प्रकृतिमा भएका सबै रुखबिरुवामा केही न केही औषधिजन्य गुण छन् ।

दसैंघरमा, दसैंकोठामा यी सबै नवपत्रिका भित्र्याएपछि प्रकृतिसँग नजिक भएको आभास हुन्छ । सप्तमीका दिनमा भित्र्याउने नवपत्रिका नेवारका केही परिवारमा अष्टमीमा पनि भित्र्याउने परम्परा छ । हनुमानढोका दरबारको दसैंघरमा गोरखादेखि ल्याएको फूलपातीलाई बाजागाजा र तोपको बढाइँसहित भव्य तरिकाले भित्र्याउने चलन छ । 

घटस्थापनाका दिनदेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीको पूजा गरिन्छ । सप्तमीका दिन जमरा राखेको कोठामा कालरात्रि देवी र जमरा देवीलाई पशुबलि चढाउने चलन छ । केही परिवारमा सुगन्धित बलि भनेर फलफूल, तरकारी काटेर चढाउँछन् । अष्टमी र नवमीमा पनि देवीको विशेष पूजा गर्दा पशुबलि, बारा र रोटी चढाउने चलन छ । 

घरघरमा कन्यालाई कुमारीका रूपमा र वसन्तपुरमा राजकुमारीलाई नवमीको दिन विशेष पूजा गरिन्छ । काठमाडौंमा खट र रथ यात्रा विभिन्न ढंगले गरिन्छ, जसमध्ये इन्द्रजात्राका दिन तान्ने कुमारीको रथ विशेष मानिन्छ । 

टीका

जमरा राखेको दसौं दिन दुर्गाको प्रसादस्वरूप टीका–जमरा लगाउने चलन छ । बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन नै दशमी हो । घरमा स्थापना गरेको कलशको जल अभिषेक गरेपछि घरमूलीबाट दही–अक्षता मुछेको टीका लगाएर जमरा शिरमा लगाउने चलन छ । टीका लगाउँदा आशीर्वाद पनि दिइन्छ । आफ्नो घरमा टीका लगाएपछि मामाघर, ससुराली र नातेदारकहाँ टीका थाप्न जाने चलन छ । 

कोजाग्रत पूर्णिमा

दसैंको पन्धौं दिन कोजाग्रत पूर्णिमाका दिन परिवारका सबै सदस्य व्रत बसेर रमाइलो गरी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी मातासँगै इन्द्रदेवको पूजा पनि पूर्णिमाकै दिन गरिन्छ । सकेसम्म रातभरि बत्ती बालेर जाग्राम बस्ने परम्परा छ । 

दसैंको पूर्णिमामा चन्द्रमाको पूजा गर्ने, खीर, दूध र सेता फूल, सेतो वस्त्र चढाउने चलन छ । यसरी १५ दिनसम्म रमाइलोसँग मनाएर दसैं चाड सकिन्छ ।

उपसंहार

दसैंमा पुस्तक पूजासँगै खड्ग जात्रा गर्ने रमाइलो काम पनि सम्पन्न गरिन्छ । असत्यमाथि सत्यको विजय हुन्छ भन्ने सन्देश प्रवाह गरेर दसैंले ईश्वरप्रतिको आस्था, पारिवारिक मूल्य–मान्यता र मनोरञ्जन सबैलाई समेटेको छ । कृषि र पर्यावरणप्रति सम्मान दर्शाउँदै देवीको पूजा–आराधनाद्वारा आफूमा शक्ति आर्जन गर्ने चाड हो दसैं । 

दसैंको आशीर्वचन यस्तो छ 

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रु क्षयं राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने 

सौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तिसुते 

विज्ञानं विदुरे प्रभवतु भवतां कीर्तिश्च नारायणे ।।

Similar Posts