दसैं नेपाली सनातन धर्मावलम्बीहरूको प्रमुख चाड हो । यसलाई विजयादशमी, बडादसैं, मोहनी दशहरा आदि विभिन्न नामले सम्बोधन गरिन्छ ।

शास्त्रमा उल्लेख भएअनुसार वर्षमा चार पटक दसैं मनाउने चलन रहेछ । ऋतुका हिसाबले वसन्त ऋतुको चैत महिनामा पर्ने चैतेदसैं र शरदऋतुको असोज–कात्तिकमा पर्ने ठूलो दसैं आजसम्म पनि शास्त्रीय परम्परानुसार नै मनाइन्छ । शरद ऋतुमा पर्ने भएकाले शारदीय दसैं पनि भनिन्छ । असोज शुक्लपक्ष प्रतिपदादेखि पूर्णिमासम्म जम्मा १५ दिन व्रत, अनुष्ठान, पूजापाठ र मान्यजनकहाँ गएर आशीर्वाद ग्रहण गर्ने, देवीलाई प्रसन्न बनाएर शक्ति आर्जन गर्ने चाड हो दसैं । 

धार्मिक ग्रन्थ

सनातन धर्मावलम्बीका थुप्रै लिखित शास्त्र छन् । सनातनीहरूले गर्ने सम्पूर्ण कर्मकाण्ड, संस्कार, पूजाआजा र उत्सवको कुनै न कुनै रूपमा शास्त्रमा उल्लेख छ । देवीको स्तुति गरिएको, वन्दना गरिएको, कठोर तपस्यापछि वरदान प्राप्त गरेका घटनालाई प्राचीन शास्त्रमा संवाद, प्रश्नोत्तर, कथा, पटकथाका रूपमा प्रस्तुत गरिएको छ । दसैंका बेला चण्डी र रामायण दुवै पाठ गर्ने प्रचलन भए पनि पूजाकोठामा जमरा स्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी) पाठ गरिन्छ ।

चण्डी मार्कण्डेय पुराणको एक अंश हो । यसमा ७०० श्लोक भएकाले सप्तशती चण्डी भन्ने चलन छ । ऋषि मार्कण्डेयले धर्मपंक्षी र आफैले विभिन्न विषयमा प्रकाश पार्नुभएकाले यो पुराणलाई मार्कण्डेय पुराण भनिएको हो । यसमा पाँच भाग, १३७ अध्याय र नौ हजार श्लोकमा विविध विषयसँगै दुर्गाको महत्ता गाइएको छ । पहिलो भागमा जैमिनी ऋषिले महाभारतका केही घटनाका बारेमा सोधेका प्रश्नको उत्तर धर्मपंक्षीले दिएका छन् । दोस्रो भागमा सृष्टि, उत्पत्ति, प्राणीको जन्म र पुनर्जन्मबारे प्रकाश पारिएको छ ।

तेस्रो भागमा मार्कण्डेयले आफ्ना शिष्यलाई सूर्यको उपासनाको महत्व र विधि बताउनुभएको छ । चौथो भागमा देवीको उपासना, दुर्गा चरित्र, आसुरी प्रवृत्तिमाथि सत्यको विजय, सम्पूर्ण देवताको तेजबाट देवीको उत्पत्ति आदि विषयमा प्रकाश पारिएको छ । पाँचौं भागमा विभिन्न राजवंशको वंशावली वर्णन छ । यसरी पाँच भागमा विभाजन गरिएको मार्कण्डेय पुराणको चौथो भाग दुर्गा सप्तशती हो । चण्डीमा आधारित भएर चण्डीमाहात्म्य र चण्डीशतक ग्रन्थ क्रमशः छैटौं र सातौं शताब्दीमा रचना गरेको मानिन्छ ।

देवीको पूजा विधान र महिमाबारे विभिन्न समयमा विविध पुराण लेखिएका छन् । जसमध्ये कालिका पुराण, देवी पुराणका आधारमा दुर्गाभक्तितरंगिणी, नवरात्र प्रदीप, दुर्गापूजा प्रयोग तत्व आदि महत्वपूर्ण मानिन्छ । हरिवंशको विष्णु पर्वअन्तर्गत रहेको आर्यादेवीको स्तुति पनि देवी पूजामा वा आपद्विपद्को बेलामा पाठ गर्ने चलन छ ।

दुर्गा पूजा विधान

दसैंमा १५ दिनसम्म गरिने देवीको पूजाविधान र प्रमुख दिनका बारेमा लिखित निर्देशन पाइन्छ । घटस्थापना, सप्तमी, अष्टमी, नवमी, दशमी र कोजाग्रत पूर्णिमामा विभिन्न विधानले पूजा गरिन्छ । 

घटस्थापना

दसैंको पहिलो दिन घटस्थापनामा पूजा कोठा, मठमन्दिर, दसैंघरमा दियो, कलश, गणेशसहित नवदुर्गाको आह्वान गरिन्छ । धान–चामलमाथि स्थापना गरिएको कलशमा महालक्ष्मी, महासरस्वती र महाकालीको पूजा गरिन्छ । सम्पूर्ण समुद्र, नदी, तीर्थ, बादललाई कलशमा विराजमान हुन भनी स्तुति गरिन्छ ।

तन्त्रसार नामक ग्रन्थमा कलशको निर्माण विधि विस्तृत रूपमा वर्णन गरिएको छ । १६ अंगुलको उचाइ, ३६ अंगुलको मध्यभाग, ८ अंगुलको मुख र ५० अंगुलको पेट भएको कलश सुन, चाँदी र तामाबाट बनाउने विधानको उल्लेख छ । तन्त्रसारमै माटोबाट निर्मित घडा पवित्र र उत्तम घडा हो भनिएको छ ।

घटस्थापनाका दिन माटो, बालुवामा मन्त्र उच्चारणसहित छरिने जौ, गहुँ र मकैलाई जमरा भनिन्छ । जमरालाई जमरा देवीका रूपमा पूजा गरिन्छ र मान्यजनका हातबाट टीका ग्रहण गर्दा प्रसादस्वरूप शिरमा लगाइन्छ । देवी दुर्गाका विविध स्वरूपलाई विश्वका अन्य स्थानमा बस्ने सबै हिन्दूले पूजा गर्छन् । जमरा स्थापना र ग्रहण गर्ने चलन भने नेपालीहरूको मात्रै हो । 

सप्तमी

जमरा राखेको सातौं दिन अर्थात् फूलपातीका दिन विभिन्न धार्मिक कार्य गरिन्छ । नौ प्रकारका फूलपाती सप्तमीको दिनमै शुभ साइत पारी पूजाकोठामा भित्र्याउने चलन छ । धार्मिक ग्रन्थमा नवपत्रिकाका केही नाम छन्–केराको बोट, घर हलेदो र वन हलेदोको बोट, जयन्ती फूल, बेल, दारिम, अशोक, मानवृक्ष, धानको बाला आदि । प्रकृतिमा भएका सबै रुखबिरुवामा केही न केही औषधिजन्य गुण छन् ।

दसैंघरमा, दसैंकोठामा यी सबै नवपत्रिका भित्र्याएपछि प्रकृतिसँग नजिक भएको आभास हुन्छ । सप्तमीका दिनमा भित्र्याउने नवपत्रिका नेवारका केही परिवारमा अष्टमीमा पनि भित्र्याउने परम्परा छ । हनुमानढोका दरबारको दसैंघरमा गोरखादेखि ल्याएको फूलपातीलाई बाजागाजा र तोपको बढाइँसहित भव्य तरिकाले भित्र्याउने चलन छ । 

घटस्थापनाका दिनदेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीको पूजा गरिन्छ । सप्तमीका दिन जमरा राखेको कोठामा कालरात्रि देवी र जमरा देवीलाई पशुबलि चढाउने चलन छ । केही परिवारमा सुगन्धित बलि भनेर फलफूल, तरकारी काटेर चढाउँछन् । अष्टमी र नवमीमा पनि देवीको विशेष पूजा गर्दा पशुबलि, बारा र रोटी चढाउने चलन छ । 

घरघरमा कन्यालाई कुमारीका रूपमा र वसन्तपुरमा राजकुमारीलाई नवमीको दिन विशेष पूजा गरिन्छ । काठमाडौंमा खट र रथ यात्रा विभिन्न ढंगले गरिन्छ, जसमध्ये इन्द्रजात्राका दिन तान्ने कुमारीको रथ विशेष मानिन्छ । 

टीका

जमरा राखेको दसौं दिन दुर्गाको प्रसादस्वरूप टीका–जमरा लगाउने चलन छ । बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन नै दशमी हो । घरमा स्थापना गरेको कलशको जल अभिषेक गरेपछि घरमूलीबाट दही–अक्षता मुछेको टीका लगाएर जमरा शिरमा लगाउने चलन छ । टीका लगाउँदा आशीर्वाद पनि दिइन्छ । आफ्नो घरमा टीका लगाएपछि मामाघर, ससुराली र नातेदारकहाँ टीका थाप्न जाने चलन छ । 

कोजाग्रत पूर्णिमा

दसैंको पन्धौं दिन कोजाग्रत पूर्णिमाका दिन परिवारका सबै सदस्य व्रत बसेर रमाइलो गरी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी मातासँगै इन्द्रदेवको पूजा पनि पूर्णिमाकै दिन गरिन्छ । सकेसम्म रातभरि बत्ती बालेर जाग्राम बस्ने परम्परा छ । 

दसैंको पूर्णिमामा चन्द्रमाको पूजा गर्ने, खीर, दूध र सेता फूल, सेतो वस्त्र चढाउने चलन छ । यसरी १५ दिनसम्म रमाइलोसँग मनाएर दसैं चाड सकिन्छ ।

उपसंहार

दसैंमा पुस्तक पूजासँगै खड्ग जात्रा गर्ने रमाइलो काम पनि सम्पन्न गरिन्छ । असत्यमाथि सत्यको विजय हुन्छ भन्ने सन्देश प्रवाह गरेर दसैंले ईश्वरप्रतिको आस्था, पारिवारिक मूल्य–मान्यता र मनोरञ्जन सबैलाई समेटेको छ । कृषि र पर्यावरणप्रति सम्मान दर्शाउँदै देवीको पूजा–आराधनाद्वारा आफूमा शक्ति आर्जन गर्ने चाड हो दसैं । 

दसैंको आशीर्वचन यस्तो छ 

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रु क्षयं राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने 

सौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तिसुते 

विज्ञानं विदुरे प्रभवतु भवतां कीर्तिश्च नारायणे ।।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts