चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा अवस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल खेलमा लालिगुराँस एसोसिएसन पोखरासँग निर्धारित समयमा गोलरहित बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलभरि पोखराको दबाब खेप्नुपरेको आर्मीले नतिजा निकाल्न टाइब्रेकरको सहारा लिनुपर्‍यो । टाइब्रेकरमा आर्मीले लालिगुराँसलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । लालिगुराँसतर्फ टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्न सफल भए । पोखराका लक्षु थापाको प्रहार लक्ष्यभन्दा बाहिर गयो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेशले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफमा दबाबमा परेको आर्मीले दोस्रो हाफमा भने आफ्नो प्रदर्शन सुधार गरेको थियो । खेलको ७९ औँ मिनेटमा आर्मीले विपक्षी पोष्टमा खतरनाक आक्रमण गरेको थियो । जर्जप्रिन्स कार्कीको शक्तिशाली प्रहार पोखराका गोलकिपर अनिस महतोले पञ्च गर्दै बचाएका थिए ।

इन्ज्युरी समयमा आर्मीले लगातार आक्रमण जारी राख्यो । जिलेस्पीजंग कार्कीले डिबक्सभित्र अनमार्क अवस्थामा गरेको प्रहारलाई महतोले असफल बनाइदिए । त्यसपछि जर्जप्रिन्सको हेडर क्रसबारमा लागेर बाहिरिएको थियो ।

लालिगुराँसले पहिलो हाफमा आर्मीमाथि दबाब बनाएको थियो । खेलको ३० औँ मिनेटमा मुकुन्दकुमार न्युरोले गोलकिपरसँग वान–भर्सेस–वानको अवसर पाए पनि गोल गर्न सकेनन् । ७४ औँ मिनेटमा टिकाराज गुरुङको प्रहारलाई आर्मीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै पोखरालाई अग्रता लिने अवसरबाट वञ्चित गरे ।

खेलको प्लेयर अफ द म्याच आर्मीका गोलकिपर विकेश घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

बुधबार एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभि जितेका छन् । महेन्द्ररत्न स्टोर्स बिर्तामोडले प्रत्येक दिन एक जना दर्शकलाई टेलिभिजन प्रदान गर्दै आएको छ ।

त्यसैगरी, प्रतियोगिताको पहिलो दिनदेखि फाइनलसम्म टिकट लिने एक जना दर्शकलाई यामाहा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल पाउनेछ ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

#jhapagoldcup #7thjhapagoldcup #sports #football

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *