.पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टा। दिउँसोको समयमा सामान्य र शान्त देखिने यो सीमावर्ती क्षेत्र रात परेपछि भने अर्कै संसारमा परिणत हुन्छ। जब मध्यरातको सन्नाटा सुरु हुन्छ, मेचीनगरको उत्तर–पूर्वी क्षेत्रका चोरबाटोहरू—तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला र सतिघट्टामा अचानक चहलपहल बढ्छ।
यो चहलपहल कुनै सामान्य नागरिकको होइन, यो त सीमा वारपार गराउने तस्करहरूको निर्बाध यात्रा हो। रातको अन्धकारलाई चिर्दै नेपालबाट चिनियाँ स्याउ, लसुन, सुपारी र खरबुजाको बियाँ भरिएका पिकअप भ्यानहरू भारततर्फ हुइँकिन्छन्। उताबाट रातारात महँगा कपडा र मोटर पार्ट्सहरू नेपाल भित्रिन्छन्। तर, अचम्मको कुरा त के छ भने, देशको सीमा सुरक्षा र चोरी निकासी नियन्त्रणको अहम् जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल यी सबै दृश्यको मौन दर्शक बनिरहेको छ।
डिएसपीको कार्यालय अगाडिबाटै ‘सेटिङ’को लाइन
काँकडभिट्टामा सशस्त्र प्रहरी बलको कमाण्ड डीएसपी योगराज थापाको हातमा छ। उनले बाहिर सुन्दा ‘तस्करी नियन्त्रणमा शून्य सहनशीलता’ अपनाएको दाबी गर्छन्। तर, ग्राउन्ड जिरोको यथार्थ निकै फरक र कहालीलाग्दो छ। स्थानीय जानकारहरूका अनुसार, तस्कर समूहले डिएसपी थापाकै कार्यालय अगाडिबाट निर्बाध रूपमा ‘लाइन’ चलाइरहेका छन्। बिहीबार राति करिब ११ बजे तिरिङ क्षेत्रबाट भारततर्फ जाँदै गरेको चिनियाँ स्याउसहितको पिकअप गाडी पक्राउ पर्नुले नाकामा भइरहेको सेटिङको पर्दाफास गरेको छ। गोदामहरूमा अहिले पनि ठूलो मात्रामा अवैध सामान थन्किएको र विभिन्न समूहले निर्बाध काम गरिरहेको स्रोतको दाबी छ।

.
.सानालाई ऐन, ठूलालाई चैन
गत शनिबार जोरसिमल चेकपोस्टमा एउटा हृदयविदारक घटना घट्यो। दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने एक सिटी रिक्सा चालकले व्यापारीले दिएको सामान र प्रज्ञापनपत्र (भन्सार तिरेको कागज) लिएर गन्तव्यतर्फ जाँदै थिए। रिक्सामा जम्मा ६८ हजार रुपैयाँ बराबरको जुत्ता र पर्दा थियो। सशस्त्र प्रहरीले कागजपत्र जाँच गर्दा पर्दाको मात्र भन्सार तिरेको र जुत्ताको नतिरेको पाइयो।
व्यापारीले भन्सार छलेर सामान पठाएका थिए, तर यसको सम्पूर्ण सजाय ती गरिब चालकले भोग्नुपर्यो। सशस्त्र प्रहरीले सामान जफत मात्र गरेन, २ लाख रुपैयाँ मूल्याङ्कन गरेर किस्तासमेत तिरी नसकेको उनको सिटी रिक्सासमेत मेची भन्सार कार्यालयमा मुद्दाको रूपमा बुझाइदियो। ती चालकको आँखामा आँसु र गलामा एउटै प्रश्न छ– “मैले त भाडाको भरमा सामान बोकेको हुँ। सामान र भन्सार पेपर नमिलेको भए कारबाही त व्यापारीलाई पो गर्नुपर्थ्यो। मेरो गरिखाने भाँडो किन खोसियो? के यो देशमा गरिबलाई गरिखाने अधिकार छैन?”
तर, विडम्बना ! तिनै सुरक्षाकर्मीको आँखा अगाडिबाट करिब एक महिना अघि लाखौँ मूल्यका मोटर पार्ट्स बोकेको स्कर्पियो गाडी मेची खोलाबाट गैरीगाउँ हुँदै सुटुक्क पार गराइन्छ। त्यति मात्र होइन, ज्यामिरगढी क्षेत्रबाट ८२ हजार रुपैयाँ बराबरको कपडासहित नियन्त्रणमा लिइएको ७०२९ नम्बरको सिटी रिक्सालाई ‘सेटिङ’मै छोडिन्छ। बसपार्क क्षेत्रमा आधा सामान मात्र राखेर बाँकी सामानसहित अर्को सवारीलाई उन्मुक्ति दिइन्छ। स्पष्ट रूपमा तस्करीमै संलग्न रहेकाहरूलाई सलाम ठोकेर बिदाइ गरिन्छ, तर भाडामा कुद्ने मजदुरको रोजीरोटी खोसिन्छ।
हराउँदै जनविश्वास, मौन सरोकारवाला
यी शृंखलाबद्ध घटनाहरूले सशस्त्र प्रहरी बलको कार्यशैलीमाथि मात्र होइन, समग्र राज्य संयन्त्रकै नियतमाथि गम्भीर प्रश्न उठाएको छ। नाकामा कानुन होइन, सुरक्षाकर्मीको सनक र तस्करको नोट चलिरहेको स्थानीयको आरोप छ।
गरिबमाथि बर्दीको आडमा हुने यस्तो ज्यादती र ठूला तस्करलाई दिइने उन्मुक्तिले सीमा सुरक्षा संयन्त्रप्रतिको जनविश्वास इतिहासमै कमजोर बन्दै गएको छ। स्थानीय बासिन्दा र सरोकारवालाहरूले अहिले सशस्त्र प्रहरी बलभित्रै उच्च स्तरीय र निष्पक्ष आन्तरिक छानबिनको जोडदार माग गरिरहेका छन्। अब हेर्न बाँकी छ— के सम्बन्धित निकायले यी गरिब चालकको आँसु देख्छ, या काँकडभिट्टाको रात अझै लामो समय तस्करहरूकै कब्जामा रहन्छ?
