राष्ट्रिय टोलीका खेलाडी समेटिएको मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस जितसँगै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।

खेलको सुरुवातमै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियन टोलीको कडा दबाब सामना गर्नुपरेको थियो । दोस्रो हाफमा बल पोजिसनमा अग्रता बनाए पनि एन पेनाङले सिर्जना गरेका अवसरहरूलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

मछिन्द्रले खेलको १९ औँ मिनेटमा अग्रता बनाएको थियो । डिबक्सभित्र मलेसियन डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बललाई सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बल मलेसियाका खेलाडीलाई टच हुँदै जाल चुमेको थियो ।

८० औँ मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी जोनाथन जोरिल्लाले मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई चिप गर्दै उत्कृष्ट गोल गरे । मलेसियाका लागि खेलको ६० औँ मिनेटमा जोन जिडेइनाले एक मात्र गोल फर्काएका थिए । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले सदुपयोग गरेका हुन् ।

खेलको ३५ औँ मिनेटमा प्रदिप बुढाथोकीले वान भर्सेस वान अवस्थामा गोल गर्न नसक्दा मछिन्द्रले गोल अन्तर बढाउने मौका गुमायो । त्यस्तै, ८८ औँ मिनेटमा देवेन्द्र तामाङको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किँदा मछिन्द्र थप गोल गर्नबाट वञ्चित भयो ।

मलेसियाका डेभिड ओलाएको प्रहार गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि खेल बराबरीमा ल्याउने अवसर गुमेको थियो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पनि पोष्टमा लागेर फर्किँदा मलेसियाको कमब्याक प्रयास असफल रह्यो ।

खेलको प्लेयर अफ द म्याच मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब आमनेसामने हुनेछन् ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन प्रदान गर्दै आएको छ । साथै, प्रतियोगिताको पहिलो दिनदेखि फाइनलसम्म टिकट काट्ने एकजना दर्शकलाई यामाहा कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने आयोजकले जानकारी दिएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *