टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको सेमिफाइनल खेलमा एपिएफले आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट टुंगिएको थियो । एक गोलले पछि परेको अवस्थाबाट शानदार कमब्याक गर्दै एपिएफले फाइनल यात्रा तय गरेको हो । यो जितसँगै एपिएफले कम्तीमा ७ लाख ५० हजार रुपैयाँ पुरस्कार सुनिश्चित गरेको छ ।

एपिएफका लागि टाइब्रेकरमा सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरे । नविन लामाको प्रहार भने झापाका गोलकिपर सन्दिप लिम्बुले रोके । झापा–११ का तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गर्न सके । नारायण क्षेत्री र गौरव धिमालको प्रहार एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

खेलको ६१औँ मिनेटमा झापाले अग्रता लिएको थियो । नारायण क्षेत्रीको कर्नरमा विदेशी खेलाडी रिचार्ड विल्सनले हेडरमार्फत गोल गर्दै झापालाई अघि बढाएका थिए । तर झापाको अग्रता लामो समय टिक्न सकेन । ६७औँ मिनेटमा एपिएफका नविन लामाले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा ठोक्किँदै गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो ।

यसअघि ३९औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किएको थियो भने ५७औँ मिनेटमा रिचार्ड विल्सनको लङ रेञ्ज सट गोलभन्दा केही माथिबाट बाहिरिएको थियो । एपिएफले पनि ३०औँ मिनेटमा दिपेश धिमालमार्फत राम्रो अवसर गुमाएको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

अब प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल शनिबार त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।

यसैबीच, प्रतियोगिताअन्तर्गत बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई टेलिभिजन प्रदान गर्दै आएको छ । साथै, पहिलो दिनदेखि फाइनलसम्म टिकट लिने एक जना भाग्यशाली दर्शकले यामाहाको स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ७ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहाको मोटरसाइकल प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनल खेल फागुन ४ गते आयोजना हुनेछ ।

#jhapagoldcup #jhapagoldcupsemifinal

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *