विदेशी खेलाडी जोनाथन जोरिल्लाको शानदार ह्याट्रिकसँगै मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा मछिन्द्रले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो ।

खेलको चौथो मिनेटमै जोनाथन जोरिल्लाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । अयोला हमजातको सटिक क्रस पासमा डिबक्सभित्र अनमार्क रहेका जोरिल्लाले वान टचमै गोल गरेका थिए । त्यसपछि खेलको २४ औँ मिनेटमा जोरिल्लाकै फ्रिकिक आर्मीका खेलाडीको हातमा लागेपछि मछिन्द्रले पेनाल्टी पायो । उक्त पेनाल्टीमा पनि जोरिल्लाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २–० को अग्रतासहित समाप्त भएको खेलमा दोस्रो हाफमा पनि मछिन्द्रको दबदबा कायमै रह्यो । खेलको ५२ औँ मिनेटमा प्रदिप बुढाथोकीको पासमा जोरिल्लाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । अतिरिक्त समयमा सब्सिच्युट खेलाडी रेजिन सुब्बाले व्यक्तिगत प्रयासमा गोल गर्दै मछिन्द्रको जित ४–० मा पुर्‍याए ।

खेलमा आर्मीका सौरभ लिम्बु र अभिषेक स्याङतानले गोल गर्ने अवसर गुमाएका थिए भने नविन लामा र दिनेश हेन्जनको प्रयास पनि असफल रह्यो । समग्रमा मछिन्द्रसामु आर्मीको प्रदर्शन फितलो देखियो ।

खेलको प्लेयर अफ द म्याच मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर प्लेयर अफ द म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनका साथीहरूले प्रदान गर्दै आएका छन् ।

त्यस्तै, प्रतियोगिताअन्तर्गत बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने एक जना दर्शकलाई टेलिभिजन प्रदान गर्दै आएको छ भने फाइनल खेलसम्म टिकट लिने दर्शकमध्ये एक जनालाई यामाहा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । झापा गोल्डकपको फाइनल खेल फागुन ४ गते हुनेछ, जहाँ मछिन्द्रले सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
#btmrocksnews #jhapagoldcup2082

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *