नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको शीर्ष नेतृत्व युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको काँधमा आइपुगेको छ। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा भारी मतका साथ सभापतिमा निर्वाचित भएका छन् भने शर्मा वरिष्ठ उपसभापति पदमा निर्विरोध चयन भएका छन्।
सभापति पदका लागि भएको मतदानमा थापाले कुल खसेको मतको ९३.८८ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गी थिए भने उम्मेदवारी दर्ता गराएका अर्का नेता किशोरसिंह राठौरले अन्तिम समयमा मनोनयन फिर्ता लिएका थिए। वरिष्ठ उपसभापतिमा शर्माविरुद्ध अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित घोषित भए।
’हलजोडी’ को यात्रा : नेविसंघदेखि पार्टीको शीर्ष नेतृत्वसम्म
तत्कालीन नेता स्वर्गीय प्रदीप गिरिले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा थापा र शर्मालाई कांग्रेस हाँक्ने ‘हलजोडी’ को संज्ञा दिएका थिए। २०५७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा शर्मा अध्यक्ष हुँदा थापा उपाध्यक्षका रूपमा सहकार्यमा थिए।
१४औँ महाधिवेशनमा फरक–फरक प्यानल (थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह समूह) बाट प्रतिस्पर्धा गरी महामन्त्रीमा विजयी भएका यी दुई नेता पछिल्ला राजनीतिक घटनाक्रम, विशेष गरी जेन–जी आन्दोलनपछि, झनै कसिलो सहकार्यमा देखिएका हुन्।
विगतको विशेष महाधिवेशनबाट पार्टी हाँक्ने जिम्मेवारी पाएका उनीहरूले १५औँ महाधिवेशनमा पनि त्यसलाई निरन्तरता दिएका छन्। संसदीय निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि थापाले सभापति पदबाट राजीनामा दिने प्रस्ताव गर्दा शर्माले त्यसलाई अस्वीकृत गर्दै थापालाई नै अगाडि बढाउने वातावरण बनाएका थिए। १५औँ महाधिवेशनमा पनि शर्माले सभापतिमा दाबी नगरी थापालाई सभापति र आफू वरिष्ठ उपसभापति बन्ने समझदारीलाई औपचारिकता दिए।
नयाँ नेतृत्व सामु चुनौतीका चाङ
थापा र शर्माको नेतृत्व स्थापित भएसँगै पूर्वसभापति शेरबहादुर देउवालगायतका पुराना पुस्ताका नेताहरू मूलधारबाट बाहिरिएका छन्। नेतृत्व युवा पुस्तामा सरे पनि पार्टीको रूपान्तरण र संगठन सुदृढीकरण नयाँ नेतृत्वका लागि सहज भने देखिँदैन।
आन्तरिक गुट व्यवस्थापन : पदाधिकारी संख्या बढाएर आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने बाध्यता र पार्टीभित्रको पुरानो शक्ति सन्तुलन कायम राख्नुपर्ने चुनौती।
तल्लो तहको रूपान्तरण : पचासको दशकदेखि स्थानीय र जिल्ला तहमा प्रभाव जमाएर बसेका पुराना नेता–कार्यकर्ताको कार्यशैली बदल्नुपर्ने दबाब।
गुमेको जनविश्वास फिर्ता : विगतका निर्वाचनको पराजयबाट पाठ सिक्दै आम मतदाता र नयाँ पुस्ता (जेन-जी) को बदलिँदो अपेक्षालाई सम्बोधन गरी पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउने कार्यभार।
वर्षौँदेखि परम्परागत शैलीमा चलेको संगठनलाई आधुनिक, उत्तरदायी र जनमुखी बनाउने घोषणा गरेका नवनिर्वाचित सभापति थापा र वरिष्ठ उपसभापति शर्माका लागि अब प्रश्न उठाउने नेताबाट जवाफ दिने नेतृत्वमा रूपान्तरण हुनुपर्ने मुख्य अग्निपरीक्षा सुरु भएको छ। #news #btmrocks
