बिर्तामोड । पूर्वी नेपालका उदाउँदा ब्यान्ड तथा संगीत प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘झापा रकस्टार’ को तेस्रो संस्करणमा यस वर्ष ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ आयोजना हुने भएको छ। प्रतियोगिताका लागि डिजिटल अडिसनबाट उत्कृष्ट सात ब्यान्ड फिजिकल अडिसनका लागि छनोट भएका छन्।
बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजक अमृत स्टोर का अध्यक्ष अमृत पौडेल ले पहिलो चरणको डिजिटल अडिसनमा सहभागी १२ ब्यान्डमध्येबाट सात ब्यान्ड छनोट गरिएको जानकारी दिए। छनोट हुने ब्यान्डहरूमा बेस क्लिप ब्यान्ड, रागभर्स, स्ट्रबरी ब्यान्ड, जेनम ब्यान्ड, कालचक्र ब्यान्ड, यात्री र आवाज ब्यान्ड रहेका छन्।
कार्यक्रमकी इभेन्ट डाइरेक्टर सुनिता तामाङ ले पूर्वी नेपालका नयाँ ब्यान्ड तथा संगीतकर्मीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर सिर्जना गर्न ‘झापा रकस्टार’ सुरु गरिएको बताइन्। एनएसएस इभेन्ट को व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताले नवप्रतिभाहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्दै उनले प्रतिस्पर्धामा कुनै पनि प्रकारको भोटिङ प्रणाली नराखिएको स्पष्ट पारिन्।
कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौला का अनुसार आगामी असार १५ गते बिर्तामोडमा हुने फिजिकल अडिसन बाट उत्कृष्ट पाँच ब्यान्ड छनोट गरिनेछ। त्यसपछि हुने ग्रान्ड फिनालेमार्फत विजेता घोषणा गरिनेछ।
प्रतियोगिताको विजेताले रु. ५० हजार नगद पुरस्कार सहित म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछन्। यस्तै दोस्रो स्थान हासिल गर्ने ब्यान्डले रु. ३० हजार तथा तेस्रो हुनेले रु. २० हजार नगद पुरस्कार पाउनेछन्। साथै विजेता टोलीहरूले विभिन्न ब्रान्डका गितार र पोर्टफोलियो सुटको अवसरसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि गत वैशाख ५ गतेदेखि जेठ १० गतेसम्म डिजिटल अडिसन आवेदन खुला गरिएको थियो। यसअघि २०८१ सालमा आयोजित पहिलो संस्करणमा ‘खुला ब्यान्ड ब्याटल’ तथा दोस्रो संस्करणमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ सफलतापूर्वक सम्पन्न भएको थियो।
झापा रकस्टारको तेस्रो संस्करणले कोशी प्रदेशका संगीतप्रेमी र नयाँ ब्यान्डहरूलाई थप उत्साह र अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

