नेपालको ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत पहिचान गुम्दै गएको भन्दै झापाका विभिन्न धार्मिक संघ–संस्थाहरूले नेपाललाई पुनः ‘वैदिक सनातन हिन्दूराष्ट्र’ घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन्।
श्री वैदिक सनातन धर्म संरक्षण समिति, नेपाल (केन्द्रीय समिति झापा) को अगुवाइमा बुधबार जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई ५ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो। समितिका अध्यक्ष रामप्रसाद ओझाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा अर्जुनधारा जलेश्वर धाम, विवेकाश्रम चारपाने, कनकाई धाम विकास समिति र सनातन धर्म सेवा समिति लगायतका विभिन्न धार्मिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
ज्ञापनपत्रमा समेटिएका मुख्य ५ मागहरू:
हिन्दूराष्ट्रको पुनर्स्थापना: संवैधानिक प्रक्रियामार्फत नेपाललाई पुनः वैदिक सनातन सापेक्ष हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने।
कडा कानुनी कारबाही: धार्मिक द्वेष, हिंसा र सामाजिक अशान्ति फैलाउने व्यक्ति वा समूहको निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाही हुनुपर्ने।
सम्पदा संरक्षण नीति: मठ–मन्दिर, गुरुकुल, गुठी, तीर्थस्थल तथा अन्य धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि प्रभावकारी नीति लागू गर्नुपर्ने।
विशेष कार्यक्रम सञ्चालन: सनातन वैदिक संस्कृति, संस्कार, परम्परा र राष्ट्रिय पहिचानको प्रवर्द्धनका लागि राज्यबाटै विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने।
सद्भाव र एकता: धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउने नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने।
‘धर्मनिरपेक्षताले पहिचान कमजोर बनायो‘
संविधान २०७२ ले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्य प्रणालीका कारण नेपालको परम्परागत धार्मिक तथा सांस्कृतिक पहिचान कमजोर बन्दै गएको निष्कर्ष ज्ञापनपत्रमा निकालिएको छ। नेपाल विश्वमै सनातन वैदिक सभ्यता र आध्यात्मिक परम्पराको केन्द्र रहेको भन्दै यसको मौलिकता जोगाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
सनातनीमाथिको आक्रमणप्रति गम्भीर आपत्ति
पछिल्लो समय देशका विभिन्न स्थानमा भइरहेका धार्मिक विवाद, मन्दिरका अर्चक (पुजारी) हरूको हत्या तथा ‘वसुधैव कुटुम्बकम्’को भाव बोक्ने हिन्दु धर्मावलम्बीहरूमाथि भइरहेका साङ्घातिक हमलाप्रति संघ–संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन्। शान्ति र सद्भावप्रेमी समुदायमाथि तनाव उत्पन्न गराउने यस्ता अक्षम्य घटनामा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्।
संविधानले दिएको धार्मिक स्वतन्त्रता र संस्कृति रक्षाको अधिकार सुनिश्चित गर्दै सबै धर्मावलम्बीको समान सुरक्षा हुनुपर्ने उनीहरूको भनाइ छ। सम्पूर्ण वैदिक सनातनीहरूका तर्फबाट शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक माध्यमबाट आफ्ना मागहरू अघि बढाइने अध्यक्ष ओझाले स्पष्ट पारेका छन्।
जिल्लाभरीका प्रतिनिधिमूलक संस्थाहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण तथा ज्ञापनपत्र वाचन समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अग्निप्रसाद सिग्देलले गरेका थिए। #news
