धनकुटा : बढी उत्पादन लिने होडबाजीमा गाउँघरमा हाइब्रिड (वर्णशंकर) र उन्नत जातका बीउको प्रयोग ह्वात्तै बढेको छ। यसको प्रत्यक्ष मारमा परेका छन्— पुस्तौँदेखि पुर्खाले जोगाउँदै आएका हाम्रा रैथाने बाली।

यसैगरी गाउँघरबाटै रैथाने बीउ हराउने जोखिम बढेपछि धनकुटा नगरपालिकाले एक ऐतिहासिक कदम चालेको छ। नगरपालिकाले यूएनडीपी र स्थानीय संस्था हुसाडेक नेपालसँगको सहकार्यमा लोप हुन लागेका पुराना बीउबिजन संरक्षण गर्न नगरपालिका परिसरमै ‘जिन बैंक’ (बीउ बैंक) स्थापना गरेको छ।

हराउँदै बाबुबाजेका पालाका बीउ

धनकुटा छथरजोरपाटी–४ मार्सेका ७२ वर्षीय बुद्धिकान्त घिमिरेलाई अझै सम्झना छ, आमा र हजुरआमाले राम्रा र पोटिला दाना छानेर अर्को वर्षका लागि बीउ जोगाएको। “हामीले पनि लामो समय त्यसै गर्‍यौँ। तर २०२५ सालतिर ‘लेर्मा ५२’ नामको गहुँको उन्नत बीउ आएपछि बिस्तारै चलन फेरियो,” घिमिरे भन्छन्, “अहिले त धेरै फल्ने र हेर्दा राम्रो देखिने हाइब्रिडको बानी पर्‍यो। बाबुबाजेका पालाका पुराना बीउ खोजेर पनि पाइँदैन।”

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार अहिले जिल्लामा गोलभेंडामा ९५ प्रतिशत, काउली–बन्दामा ९० प्रतिशत, मकैमा ३० प्रतिशत र धानमा २५ प्रतिशत हाइब्रिड बीउको प्रयोग भइरहेको छ। कोदोमा मात्रै पूर्ण रूपमा रैथाने बीउको प्रयोग छ। ज्ञान केन्द्रका निमित्त प्रमुख नगेन्द्र रानाका अनुसार हाइब्रिड बीउले उत्पादन राम्रो दिए पनि त्यसबाट अर्को वर्षका लागि बीउ राख्न मिल्दैन, जसले गर्दा किसान परनिर्भर बन्दै गएका छन्।

७० भन्दा बढी जातका बीउ सङ्कलन

रैथाने बाली जोगाउने अभियानअन्तर्गत हुसाडेक नेपालले गत चैतदेखि गाउँ–गाउँ र हाटबजार पुगेर पुराना बीउ सङ्कलन गरिरहेको छ।

संस्थाका अध्यक्ष खेमराज थापाका अनुसार हालसम्म बेलगुटी, बासमती र तौली जस्ता रैथाने धानका जातसहित २५ भन्दा बढी प्रजातिका करिब ७० जातका बीउ सङ्कलन भइसकेका छन्। यसमा फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौंफ, तोरी, चमसुर, गहुँ, आलस, रातो तथा कालो दाल, माझी बोडी र विभिन्न रैथाने कोदोलगायतका बीउ सुरक्षित गरिएका छन्।

“अहिले नजोगाए केही वर्षपछि यी बीउ इतिहास मात्र बन्नेछन्,” अध्यक्ष थापा भन्छन्, “कतिपय बीउ त अहिले नै पाउन मुस्किल भइसकेको छ।”

रैथाने बीउ : भविष्यको सञ्जीवनी

कृषि वैज्ञानिकहरू रैथाने बीउलाई राष्ट्रकै सम्पत्तिका रूपमा लिन्छन्। बागबानी अनुसन्धान केन्द्र, मालेपाटन पोखराका प्रमुख डा. गोविन्द तिम्सिना पुराना जातका बीउमा रोगकीरा र मौसमी प्रतिकूलता सहनसक्ने अद्भुत क्षमता हुने बताउँछन्।

“आज कम फल्ने भनेर हेला गरिएको कुनै रैथाने जात भोलि खडेरी वा नयाँ रोगसँग जुध्न संजीवनी बन्न सक्छ,” डा. तिम्सिना भन्छन्, “रैथाने बीउ हराउनु भनेको स्वाद मात्र गुमाउनु होइन, भविष्यमा नयाँ जात विकास गर्ने आनुवंशिक स्रोत नै गुमाउनु हो।”

मोडल : ‘एक मुठी लगेर दुई मुठी फिर्ता

तत्कालका लागि यो जिन बैंक ‘बीउ आदानप्रदान’ मोडलमा चल्नेछ। किसानलाई ‘एक मुठी बीउ लगेर उत्पादनपछि दुई मुठी फिर्ता गर्ने’ सर्तमा बीउ उपलब्ध गराउने तयारी छ। यसले गर्दा समुदायस्तरमा बीउको पुनः उत्पादन हुनेछ।

धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीका अनुसार कोभिड–१९ को महामारीमा बाहिरबाट बीउ ल्याउन नसक्दा किसानले भोगेको सास्तीले यो अवधारणाको जन्म भएको हो। “महामारीले हामीलाई आफ्नै बीउ बैंक हुनुपर्छ भन्ने सिकायो,” अधिकारीले भने, “यसलाई भवनभित्र मात्र सीमित नराखी किसानको खेतबारीसम्म विस्तार गर्दैछौँ।”

नगरपालिकाले बीउको डिजिटल अभिलेख राख्ने, तापक्रम मिलाएर भण्डारण गर्ने र खाम्बेला क्षेत्रमा कोदो खेतीको अनुसन्धानसमेत सुरु गरिसकेको छ। हाल हुसाडेक नेपालले व्यवस्थापन गरिरहेको यो ‘सीड जिन बैंक’ आगामी असोजबाट पूर्ण रूपमा धनकुटा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ। – #news #dhankuta

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *