डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्‍यो।

खेलको २७ औँ मिनेटमा दिनेश हेञ्जनको क्रस पासलाई सदुपयोग गर्दै नविन लामाले वान–टच प्रहारमार्फत आर्मीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको आकर्षक एक्रोब्याटिक प्रहार गोलमा परिणत हुँदा आर्मीले अग्रता दोब्बर बनायो।

दोस्रो हाफमा पनि आर्मीको दबदबा कायम रह्यो। खेलको क्रममा जर्जप्रिन्स कार्कीले करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिक सिधै जालीमा पुग्दा आर्मीले तेस्रो गोल थप्यो।

खेलको ३२ औँ मिनेटमा आर्मीका कुशल देउवाले गरेको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट जोगाएका थिए। यद्यपि, बलको अधिकांश समय नियन्त्रणमा राखेको आर्मीले थप गोल भने गर्न सकेन।

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले आर्मीको पोस्टमा उल्लेखनीय दबाब सिर्जना गर्न सकेन। खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले सजिलै विफल बनाए।

उपाधिको बलियो दाबेदार मानिने आर्मी यस रंगशालामा आयोजित प्रतियोगिताको चार सिजनको विजेता रहँदै आएको छ। गत सिजनदेखि सहभागी बनेको चर्च ब्वाइजले पहिलो सहभागितामै उपाधि जितेको भए पनि यसपटक पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

खेलको प्लेयर अफ द म्याच आर्मीका नविन लामा घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो क्वार्टर फाइनल खेल झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब, सिक्किमबीच हुनेछ। प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाउनेछन् भने विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *