नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कार्यकर्ताहरूलाई जनताको भरोसा फर्काउने अभियानमा सक्रिय हुन कडा निर्देशन दिएका छन्। नेपाली कांग्रेस झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न ‘जिल्ला स्तरीय कार्यकर्ता भेला’लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
पार्टी सभापतिको जिम्मेवारी सम्हालेपछि थापाको यो पहिलो झापा भ्रमण हो।

गगन थापाको जोड: सत्ताभन्दा जनतामुखी राजनीति
विगतका सत्ता केन्द्रित अभ्यास र अस्थिर गठबन्धनप्रति आत्मालोचना गर्दै सभापति थापाले कांग्रेसको पहिलो दायित्व जनताको गुमेको विश्वास पुनः प्राप्त गर्नु रहेको बताए।
उनले सम्बोधनका क्रममा राखेका मुख्य बुँदाहरू:
गठबन्धनको अभ्यासप्रति असन्तुष्टि: स्पष्ट राजनीतिक उद्देश्यबिना पटक–पटक गठबन्धन गर्ने र तोड्ने प्रवृत्तिले जनतामा पार्टीप्रति वितृष्णा बढाएको स्वीकार।
सत्तामोहको अन्त्य: भागबण्डा र केही नेताको प्रधानमन्त्री बन्ने आकांक्षाले कांग्रेसको मूल राजनीतिक चरित्र कमजोर बनेको विश्लेषण गर्दै, अब सरकार गठनको अंकगणितभन्दा जनताको मन जित्नतर्फ लाग्नुपर्ने।
सुकुम्बासी समस्या समाधान: भूमिहीन सुकुम्बासीको समस्यालाई भोटको राजनीतिसँग मात्र नजोडी उनीहरूको जीवनसँग जोडिएको राज्यको दायित्वका रूपमा लिनुपर्ने।
१५औँ महाधिवेशन: आगामी महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन कार्यकर्ताले विश्वास गरेका व्यक्तिको नेतृत्वमा समिति बनाउने प्रतिबद्धता।
घर–घर अभियान: कांग्रेसबाट टाढिएका कार्यकर्ता र शुभेच्छुकको मन जोड्न घर–घर पुग्ने अभियान सञ्चालन गरिने।

उपसभापति विश्वप्रकाश शर्माको असन्तुष्टि र ध्यानाकर्षण
कार्यक्रममा बोल्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान ५० वर्षमुनिको पुस्ताले पार्टीको बागडोर सम्हालिरहेको भन्दै आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरे।
शर्माले उठाएका प्रमुख समसामयिक र स्थानीय मुद्दाहरू:
सुशासनमा प्रश्न: सरकारले मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याएकोप्रति कडा असन्तुष्टि व्यक्त गर्दै यो नैतिक राजनीतिको मर्मविपरीत भएको टिप्पणी।
चिया उद्योगको संकट: झापाका चिया उद्योगमा देखिएको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता गर्नुपर्ने माग।
हात्ती आतंकको दीर्घकालीन समाधान: मेचीनगरको बाहुनडाँगी क्षेत्रमा वर्षौंदेखि कायम जंगली हात्तीको आतंक रोक्न विगतको विद्युतीय तारबार मात्र पर्याप्त नभएको भन्दै स्थानीयको सुरक्षा केन्द्रित नयाँ योजना ल्याउन सरकारको ध्यानाकर्षण।
कार्यक्रम मा नेता कार्यकर्ता को व्यापक सहभागिता
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको अध्यक्षता र जिल्ला सचिव नवीन विमलीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका शीर्ष नेतादेखि स्थानीय कार्यकर्तासम्मको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतिनिधिसभामा काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, पार्टीका सहमहामन्त्री डिला संग्रौला, कोशी प्रदेश सभापति उद्धव थापा, नेतृ मन्दरा चिमरिया लगायतका वक्ताहरूले संगठन सुदृढीकरण र जनविश्वास पुनर्निर्माणलाई आगामी राजनीतिक कार्यदिशा बनाउनुपर्नेमा जोड दिएका थिए।
भेलामा केन्द्रीय समितिका पदाधिकारी, पूर्व केन्द्रीय सदस्य, प्रतिनिधिसभा र कोशी प्रदेशसभाका सांसद/पूर्व सांसद, छिमेकी जिल्लाका सभापतिहरू, तथा वडा-टोलसम्मका कार्यसमितिका पदाधिकारी र शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस भेलाले आगामी महाधिवेशनको तयारीसँगै स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने बलियो सन्देश दिएको छ।
(थप समाचार र अपडेटका लागि www.ebtmrocks.com हेर्दै गर्नुहोला।)
