निर्जला एकादशी व्रत कथा
५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।

यस एकादशीमा के के गरिन्छ ?
ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौँ, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *