काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य पुनः बढाएको छ। सङ्घको काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझावका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानेर नयाँ दररेट तय गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य ३० वटाको एक क्रेटको ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी (६ क्रेट) ३ हजार रुपैयाँ कायम गरिएको छ।
नयाँ मूल्य लागू भएसँगै खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ पुगेको छ। सङ्घले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव र किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको जनाएको छ।
पछिल्लो एक महिनायता अण्डाको मूल्य लगातार उकालो लागिरहेको छ। वैशाखको तेस्रो सातासम्म एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ, ठूलो अण्डाको ४९० रुपैयाँ, मिडियम अण्डाको ४०० रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी २ हजार ३०० रुपैयाँ रहेको थियो।
किसानहरूले उत्पादन लागतअनुसार उचित मूल्य पाएको बताइए पनि पटक–पटकको मूल्यवृद्धिले उपभोक्ताको खर्च बढाएको छ। सङ्घले उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन तथा दीर्घकालीन स्थायित्वका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको जनाएको छ।

