ताप्लेजुङ — प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र मौलिक संस्कृतिले समृद्ध सुदूरपूर्वी जिल्ला ताप्लेजुङ पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर, तिम्बुङ पोखरी, ओलाङचुङगोला, सिङ्जेमा ताल, लोदेन, तोक्पेगोला तथा फुङ्फुङ्गे झरनालगायत दर्जनौं पर्यटकीय गन्तव्यहरू उचित प्रचार–प्रसार र व्यवस्थापनको पर्खाइमा रहेका छन्।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार कञ्चनजङ्घा क्षेत्र अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रत्यक्ष जोडिन सक्ने क्षमता बोकेको भए पनि स्पष्ट नीति, प्रभावकारी व्यवस्थापन र दीर्घकालीन योजना अभावका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। पर्यटन प्रवर्द्धनका लागि राज्यका विभिन्न निकायबाट बजेट विनियोजन हुने गरे पनि अधिकांश कार्यक्रम कागज र ब्यानरमै सीमित भएको गुनासो बढ्दै गएको छ।

पर्यटन प्रवर्द्धनको नाममा विभिन्न संघसंस्था सक्रिय देखिए पनि त्यसको प्रत्यक्ष प्रभाव पर्यटक आगमनमा देखिन नसकेको स्थानीयको भनाइ छ। मेला, महोत्सव र अन्य कार्यक्रमहरू आयोजना गरिए पनि तिनले दीर्घकालीन पर्यटन विकासमा उल्लेखनीय योगदान दिन नसकेको टिप्पणी हुने गरेको छ।

यता, पर्यटन व्यवसायी अमि राईको पहलमा तिम्बुङ पोखरी क्षेत्रमा संरचनागत विकास र पर्यटन गतिविधि सुरु भएपछि त्यहाँ पर्यटक आगमनमा सकारात्मक वृद्धि देखिएको छ। स्थानीय स्रोतका अनुसार हाल उक्त क्षेत्रमा वार्षिक ५ हजारभन्दा बढी पर्यटक भित्र्याउन सकिने सम्भावना देखिएको छ।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका ले पछिल्ला दुई वर्षदेखि ४,३०० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा ‘तिम्बुङ पोखरी ट्रेल रन’ आयोजना गर्दै आएको छ। सीमित बजेटमा सञ्चालन गरिएको उक्त कार्यक्रमले क्षेत्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याएको सरोकारवालाहरू बताउँछन्।

स्थानीयवासी तथा पर्यटनकर्मीहरूले राज्यको स्पष्ट पर्यटन नीति, पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार र स्थानीय तहको सक्रियता अभावका कारण बहुआयामिक पर्यटनको केन्द्र बन्न सक्ने ताप्लेजुङ अझै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अपेक्षित रूपमा स्थापित हुन नसकेको बताएका छन्।

उनीहरूको भनाइमा ताप्लेजुङका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके जिल्लाले पर्यटनमार्फत आर्थिक समृद्धिको नयाँ ढोका खोल्न सक्नेछ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *