..देशका विभिन्न भूभागमा भइरहेको वर्षाका कारण साना तथा ठूला नदी–खोलाहरूमा बहाव उल्लेख्य बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी बागमती प्रदेशका नुवाकोट र रसुवामा आकस्मिक बाढी (Flash Flood) को उच्च जोखिम रहेको छ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका ३१ जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ्ने र बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
बाढीको उच्च जोखिम रहेका जिल्लाहरू
रसुवा र नुवाकोट: यी जिल्ला भई बहने स-साना खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
मध्यम जोखिम रहेका जिल्लाहरू
काठमाडौँ उपत्यका: काठमाडौँ, ललितपुर र भक्तपुर।
कोशी प्रदेश: पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु र ओखलढुंगा।
बागमती प्रदेश: रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुर।
गण्डकी प्रदेश: गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ।
लुम्बिनी प्रदेश: गुल्मी र बर्दिया।
सुदूरपश्चिम प्रदेश: कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर।
सतर्कता अपनाउन अनुरोध
वर्षाका कारण नदी किनारका बस्ती, होचा भूभाग र पहिरोको जोखिम रहेका सडक खण्डहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई जलसतहमा निरन्तर निगरानी राख्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
