भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्‍याएको छ ।

शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने बताए ।

आतंकवादी पूर्वाधारलाई निशाना’ बनाएको भन्दै पाकिस्तानमा हवाई कारबाही गर्नुअघि भारतले नेपालसँग केही सुरक्षा चासो राखेको थियो । बिहीबारको विज्ञप्तिपछि भारतीय राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धन्यवाद दिएका छन् ।

‘नेपाल विश्व शान्तिको पक्षमा छ, सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान अनुरुप पहिल्यै आतंकवादी हमलाको भर्त्सना गरिएको छ’, ओलीले भनेका छन् ।

भारत–पाकिस्तान तनावबीच सार्वजनिक रुपमा फरक–फरक तथ्यहरू आइरहेका बेला जारी परिस्थितिबारे ब्रिफिङ गर्न राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए ।

त्यसक्रममा उनले पहलगाम हमलाको जवाफमा भारतले आतंकवादीविरुद्ध कारबाही गरेको प्रष्ट्याए । अन्य देशमा रहेका भारतीय मिसनले समेत यो बेला भा–पाक तनावबारे सम्बन्धित मुलुकलाई ब्रिफिङ गरिरहेका छन् ।

Similar Posts