बिर्तामोडका रात्रिकालीन व्यवसायमा प्रहरीको ‘अपरेसन’, व्यवसायी आक्रोशित – “अपराधीझैँ व्यवहार किन?”
झापाको बिर्तामोडमा पछिल्लो समय रात्रिकालीन मनोरञ्जन व्यवसायमाथि प्रहरी प्रशासनको निगरानी र हस्तक्षेप बढ्दै गएको भन्दै व्यवसायीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।
व्यवसायीहरूका अनुसार कुनै झैझगडा नभएको, शान्ति सुरक्षासम्बन्धी कुनै समस्या नदेखिएको र स्थानीय तह वा सर्वसाधारणबाट कुनै गुनासोसमेत नआएको अवस्थामा प्रहरीले क्लब, बार तथा रेस्टुरेन्टहरूमा प्रवेश गरी सञ्चालक र कर्मचारीहरूलाई नियन्त्रणमा लिने कार्य गरिरहेको छ।
“यदि कसैले कानुन उल्लंघन गरेको छ भने कानुनी प्रक्रिया अनुसार कारबाही होस्, तर व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई बिना स्पष्ट कारण अपराधीझैँ व्यवहार गरिनु न्यायोचित हुँदैन,” एक व्यवसायीले गुनासो गरे।
लाखौँदेखि करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका होटल, रेस्टुरेन्ट, क्लब तथा मनोरञ्जन व्यवसायहरू अहिले असुरक्षा र अन्योलको वातावरणमा पुगेको व्यवसायीहरूको दाबी छ। उनीहरूका अनुसार यस्ता गतिविधिले लगानीकर्ताको मनोबल कमजोर बनाउने मात्र होइन, पर्यटन र आतिथ्य क्षेत्रलाई समेत प्रत्यक्ष असर पार्ने खतरा बढाएको छ।
पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइरहेको क्षेत्रमाथि राज्य संयन्त्रबाट हुने अनावश्यक दबाबले सकारात्मक सन्देशभन्दा नकारात्मक प्रभाव बढी पार्ने सरोकारवालाहरूको भनाइ छ।
व्यवसायीहरूले कानुन कार्यान्वयनको नाममा गरिने दमनात्मक शैली अन्त्य गर्दै स्पष्ट मापदण्ड र कानुनी आधारमा मात्र अनुगमन तथा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
