.प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिपछि देशको राजनीतिक वृत्तमा बहस चर्किएको छ। यही विषयलाई लिएर महानायक राजेश हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
हमालले वर्तमान विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि अत्यावश्यक हुने बताएका छन्। उनले नेतृत्वमा यी गुणहरूको अभाव हुँदा राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उल्लेख गरेका छन्।

सीमासम्बन्धी विवादबारे आफ्नो धारणा राख्दै हमालले ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ बीच स्पष्ट भिन्नता रहेको बताएका छन्। उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय तहका समस्या, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ वा बस्ती विस्तारसँग जोडिएका विषय हुन्, जसको समाधान संवाद र संयुक्त पहलबाट सम्भव हुन्छ।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने कुनै राष्ट्रले विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्ने योजनाबद्ध प्रयास भएको उनले बताएका छन्। सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन तथा सरकारी नक्सा संशोधनजस्ता गतिविधि त्यसका संकेत हुने उनको भनाइ छ।
हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई यस प्रकारको विवादसँग जोड्दै उदाहरण दिएका छन्। उनको अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री बालेन शाहको हालैको विवादास्पद भनाइप्रतिको अप्रत्यक्ष प्रतिक्रिया र आलोचनाका रूपमा लिएका छन्।
यसअघि पनि फागुन २१ को पूर्वसन्ध्यामा हमालले सार्वजनिक गरेको भिडियो सन्देशलाई नयाँ राजनीतिक शक्ति र उम्मेदवारहरूप्रतिको घुमाउरो टिप्पणीका रूपमा चर्चा गरिएको थियो।

