भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको पानीबोट (मोटरबोट) धनकुटाको त्रिवेणीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन्।
आइतबार दिउँसो करिब २ बजे साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा ओबीएम कम्पनीको बोटको अचानक ब्रेक फेल भएपछि दुर्घटना भएको हो। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर चतरातर्फ जाँदै गरेको बोट अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) नारायण रन्जितकारले जानकारी दिए।
उपचारका क्रममा ३ को मृत्यु, १ घाइते
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले चालकसहित १२ जनालाई उद्धार गरी चतरा अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राई, अन्दाजी ४० वर्षीय एक पुरुष र करिब ६ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक पुरुष र बालिकाको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएका भोजपुरको हतुवागढी–४ का ३१ वर्षीय मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
तीन यात्रु अझै बेपत्ता, चालक प्रहरी नियन्त्रणमा
दुर्घटनामा परी झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन्। प्रहरीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
बोटमा सवार केही यात्रु पौडी खेलेर सकुशल बाहिर निस्किएका थिए भने उद्धार गरिएका अन्य यात्रुहरू घर फर्किसकेका छन्। प्रहरी चौकी बराहक्षेत्रले पानीबोट चालक बराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगरलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
