सरकारले इरानमा रहेका नेपाली नागरिकहरूलाई जतिसक्दो चाँडो स्वदेश फर्किन अपिल गरेको छ। परराष्ट्र मन्त्रालयले इरानको पछिल्लो विकसित अवस्थालाई ध्यानमा राख्दै ट्राभल एड्भाइजरी जारी गर्दै उक्त आग्रह गरेको हो।

मन्त्रालयले हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म चाँडो देश छोड्न सल्लाह दिएको छ। साथै, इरान जाने तयारीमा रहेका नेपालीहरूलाई पनि परिस्थिति सामान्य नहुञ्जेलसम्म कुनै पनि यात्रा योजना स्थगित गर्न कडा अनुरोध गरिएको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी ट्राभल एड्भाइजरीमा भनिएको छ,
“इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई परिस्थिति सामान्य नहुञ्जेलसम्म इरान यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न कडा रूपमा अनुरोध गरिन्छ। त्यसैगरी, हाल इरानमा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म चाँडो देश छोड्न सल्लाह दिइन्छ।”

आपत्कालीन अवस्थामा देश छोड्न सहज होस् भन्नका लागि नेपाली नागरिकहरूलाई पासपोर्ट, परिचयपत्रलगायत यात्रा सम्बन्धी सबै आवश्यक कागजातहरू तयारी अवस्थामा राख्न पनि मन्त्रालयले सुझाव दिएको छ।

यस्तै, आवश्यक समन्वय र सहयोगका लागि नेपालस्थित सम्बन्धित निकाय तथा कतारस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ।

सरकारले इरानको सुरक्षा अवस्था थप जटिल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समयमै सतर्कता अपनाउन नेपाली नागरिकहरूलाई आग्रह गरेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *