झापा जिल्ला पछिल्लो समय लागूऔषध ओसारपसार र दुर्व्यसनको गम्भीर चपेटामा परेको छ। जिल्लाका कुनै पनि पालिका यो समस्याबाट अछुतो छैनन्। विशेषगरी मेचीनगर, भद्रपुर, बिर्तामोड र दमकमा यसको प्रभाव विकराल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले शनिबारदेखि वृहत् ‘लागूऔषधविरुद्ध झापा अभियान’ को थालनी गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिर्तामोडमा आयोजित एक विशेष समारोहबीच उक्त अभियानको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। मेचीनगर, भद्रपुर, बिर्तामोड र दमकजस्ता क्षेत्र लागूऔषधबाट अति प्रभावित भएपछि प्रहरीले समाजका सबै तप्कालाई समेटेर यो अभियान थालेको हो।

विद्यालयदेखि खेल मैदानसम्म सचेतना
यस अभियान परम्परागत शैलीभन्दा फरक छ। प्रहरीले युवा र विद्यार्थीलाई मुख्य लक्षित वर्ग बनाएको छ। विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले ‘टिच् द टिचर्स’ कार्यक्रमअन्तर्गत १५० जना शिक्षकलाई तालिम दिएर कक्षाकोठासम्म सचेतना पुर्याउने तयारी गरेको छ।
त्यसैगरी, युवाहरूलाई खेलकुदमा आकर्षित गर्न ‘फुटबल पार्टनरसिप’ अन्तर्गत मैत्रीपूर्ण खेलहरू आयोजना गरिनेछन्। नागरिक समाज र दलहरूलाई जोड्न ‘जान क्लब’ र विद्यालयहरूमा ‘पोस्टरिङ क्याम्पियन’ जस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ।










“सबैको साथ विना सम्भव छैन“
कार्यक्रममा जिल्लाको भयावह अवस्थाबारे जानकारी गराउँदै जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन्, “लागूऔषध नियन्त्रण प्रहरीको मात्र ड्युटी होइन, यसमा घरपरिवारदेखि सम्पूर्ण संघसंस्थाको उत्तिकै दायित्व छ।”
कार्यक्रममा बिर्तामोडका नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन, हल्दिवारीका अध्यक्ष रविन्द्र लिङ्देन लगायत विभिन्न पालिकाका जनप्रतिनिधिहरूले अभियानलाई सफल पार्न प्रतिबद्धता जनाएका थिए। उद्घाटन समारोहलाई थप प्रभावकारी बनाउन लागूऔषधको असर झल्काउने सचेतनामूलक नाटक र सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।#news
