यतिखेर विश्व फुटबलमय भएको छ । हरेक गाउँ–टोल, शहरका चिया पसलदेखि, डिपार्टमेन्ट स्टोर, कार्यालय, कलेज, सामाजिक सञ्जालदेखि घर–घरमा, कोठा–कोठामा एउटै विषयले चर्चा पाइरहेको छ– त्यो हो फिफा विश्वकप–२०२६ ।

कतै स्पेनको पासिङ फुटबलको चर्चा छ, कतै फ्रान्सको फास्ट आक्रमणको । कसैले अर्जेन्टिनाको अनुभवको प्रशंसा गरिरहेका छन् भने कतै इंग्ल्याण्डले यसपालि ६ दशक लामो उपाधि खडेरी अन्त्य गर्ने बहस चलिरहेको छ । विश्वका करोडौं समर्थकझैं नेपालका फुटबलप्रेमी पनि आफ्ना रोजाइका टोली र खेलाडीको जित–हारमा रमाइरहेका छन् । खेलको सूत्र यही हो । जसले भाषा, भूगोल, जात, धर्म र सीमाको घेरा तोडेर संसारलाई एउटै भावनामा बाँधिदिन्छ ।

यसपटकको विश्वकप अझ विशेष बनेको छ । ४८ राष्ट्रको सहभागितासहित पहिलोपटक विस्तारित स्वरूपमा आयोजना गरिएको प्रतियोगिताले विश्व फुटबलको बदलिँदो स्वरूपलाई झनै स्पष्ट बनाइदिएको छ । एक समय विश्वकपमा केही सीमित राष्ट्रको दबदबा हुने गथ्र्यो, तर अहिले परिस्थिति बदलिँदै गएको छ । अब केवल ठूलो इतिहास बोकेको टोली हुनु पर्याप्त छैन, मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने टोली नै अघि बढ्ने युग देखिएको छ ।

प्रतियोगिता शुरु हुनुअघि अर्जेन्टिना, फ्रान्स, स्पेन, इंग्ल्यान्ड, ब्राजिल, जर्मनी, पोर्चुगल र नेदरल्यान्ड्सलाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । तर, खेलको अर्को परिचय नै अप्रत्याशित नतिजा हो । राउण्ड अफ ३२देखि नै त्यही दृश्य देखियो । पहिलोपटक विश्वकप खेलिरहेका वा लामो समयपछि फर्किएका टोलीहरूले स्थापित महारथीलाई चुनौति दिए, कतिपयलाई त प्रतियोगिताबाटै बाहिर पठाइदिए । यसले एउटा सन्देश दियो– अब विश्व फुटबलमा नामभन्दा प्रदर्शन ठूलो भएको छ ।

यद्यपि प्रतियोगिताले अन्तिम मोड लिँदै गर्दा एउटा रोचक संयोग देखिएको छ । विश्व फुटबलका चार परिचित महाशक्ति–स्पेन, फ्रान्स, अर्जेन्टिना र इंग्ल्यान्ड–सेमीफाइनलमा पुगेका छन् । यसले फेरि प्रमाणित गरेको छ कि कठिन परिस्थितिमा अनुभव, लगनशीलता आत्मबल र ठूला प्रतियोगिता खेलेको अनुभव अझै पनि निर्णायक बन्न सक्छ ।

अब सबैको नजर पहिलो सेमीफाइनलमा छ, जहाँ स्पेन र फ्रान्स आमने–सामने हुँदैछन् । शैली फरक भए पनि लक्ष्य एउटै छ– फाइनल । २०१० को विश्वविजेता स्पेनले यस विश्वकपमा अत्यन्त अनुशासित र सन्तुलित फुटबल खेलेको छ । बलमाथिको नियन्त्रण, सटिक अनि पास, विपक्षीलाई झुक्याउने शैली र अवसर पाएपछि गोल गर्ने क्षमताले स्पेनलाई फेरि विश्व फुटबलको शीर्ष टोलीका रूपमा उभ्याएको छ ।

यो टोलीको सफलताको केन्द्रमा युवा पुस्ता छ । लामिन यामालले आफ्नो उमेरभन्दा धेरै परिपक्व प्रदर्शन गर्दै विश्वभरका समर्थकको ध्यान तानेका छन् । उनको ड्रिब्लिङ, गति र सिर्जनशीलताले हरेक खेलमा नयाँ ऊर्जा दिएको छ । निको विलियम्स ले विङबाट लगातार दबाब सिर्जना गरेका छन् भने पेड्रीले मिडफिल्डमा खेलको लय नियन्त्रण गर्दै टोलीलाई आवश्यक सन्तुलन दिएका छन् । कप्तान रोड्री को नेतृत्व, बल नियन्त्रण र खेल बुझ्ने क्षमताले स्पेनलाई अझ बलियो बनाएको छ ।

तर, स्पेनको बाटो सहज छैन । किनभने अर्को किनारमा उभिएको छ– फ्रान्स । सन् १९९८ र २०१८को विश्वविजेता फ्रान्स पछिल्लो दशक विश्व फुटबलको सबैभन्दा स्थिर र सफल टोलीमध्ये एक हो । ठूलो प्रतियोगिता कसरी खेल्ने भन्ने अनुभव यो टोलीसँग प्रशस्त छ । त्यसैमाथि किलियन एम्बाप्पे जस्तो खेलाडी टोलीको सबैभन्दा ठूलो हतियार बनेका छन् । उनको सपोर्टलाई विपक्षी टिमलाई हम्मेहम्मे पर्छ । उनको, गोल गर्ने क्षमता र एक्लै खेलको दिशा बदल्ने सामथ्र्यले फ्रान्सलाई हरेक खेलमा खतरनाक बनाएको छ । उस्मान डेम्बेलेले विङबाट विपक्षी रक्षापंक्ति भत्काउने काम गरेका छन् भने ओरेलियन चुआमेनीले मिडफिल्डलाई मजबुत बनाएका छन् । युवा प्रतिभा डिजिरे डुएले पनि प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै भविष्यका सुपरस्टारको संकेत दिएका छन् । गोलरक्षक माइक म्यानियन कठिन क्षणमा टोलीका भरपर्दा रक्षक बनेका छन् ।

स्पेन र फ्रान्सबीचको भीडन्त केवल दुई टोलीको खेल हुनेछैन, यो आधुनिक फुटबलका दुई फरक दर्शनबीचको प्रतिस्पर्धा पनि हुनेछ–एकातिर धैर्य, पासिङ र नियन्त्रण, अर्कोतिर गति, शक्ति र तीव्र आक्रमण । दोस्रो सेमीफाइनल अझ भावनात्मक छ । अर्जेन्टिना र इंग्ल्यान्ड को भेट विश्व फुटबलको सबैभन्दा चर्चित प्रतिद्वन्द्वीतामध्ये एक हो । १९८६ विश्वकपमा डिएगो म्याराडोनाले गरेको ‘ह्यान्ड अफ गड’ र त्यसलगत्तैको ‘गोल अफ द सेन्चुरी’ आज पनि फुटबल इतिहासको सबैभन्दा चर्चित घटनामध्ये पर्छ । त्यसयता यी दुई राष्ट्रबीचको प्रत्येक भेट केवल खेलमा सीमित रहँदैन, इतिहास र प्रतिष्ठासँग पनि जोडिन्छ ।

साविक विश्वविजेता अर्जेन्टिना यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । टोलीले अनुभव र युवाशक्तिबीच उत्कृष्ट सन्तुलन कायम गरेको छ । कप्तान लियोनेल मेस्सी अझै पनि टोलीका प्रेरणाका स्रोत बनेका छन् । उमेर बढे पनि उनको खेल पढ्ने क्षमता, निर्णायक पास र कठिन क्षणमा जिम्मेवारी लिने स्वभाव अर्जेन्टिनाको सबैभन्दा ठूलो बल बनेको छ । जुलियन अल्भारेजले लगातार गोल गर्दै आक्रमणलाई धार दिएका छन् । एन्जो फर्नान्डेज र अलेक्सिस म्याक एलिस्टर ले मिडफिल्डमा अथक मेहनत गर्दै टोलीलाई सन्तुलित बनाएका छन् भने क्रिस्टियन रोमेरो र गोलरक्षक मार्टिनेज ले रक्षापङ्क्तिलाई मजबुत बनाएका छन् । विशेषगरी दबाबपूर्ण खेलमा मार्टिनेजको आत्मविश्वास अर्जेन्टिनाको ठूलो सम्पत्ति बनेको छ ।

यता इंग्ल्यान्ड पनि यसपटक फरक आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ । सन् १९६६ पछि विश्वकप जित्न नसकेको पीडा अन्त्य गर्ने सपना बोकेको टोलीमा युवा र अनुभवको उत्कृष्ट मिश्रण देखिन्छ । कप्तान ह्यारी केनले गोलको जिम्मेवारी सम्हालिरहेका छन् भने जुड बेलिङ्मले विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एकका रूपमा आफ्नो छवि अझ मजबुत बनाएका छन् । बुकायो साकाको गति, फिल फोडेनको सिर्जनशीलता, डेक्लन राइसको अथक मेहनत र गोलरक्षक जोर्डन पिकफोर्डका महत्वपूर्ण बचाउले इंग्ल्यान्डलाई उपाधिको बलियो दाबेदार बनाएको छ । तर, इतिहासले भने अझै पनि अर्जेन्टिनाबिरुद्ध इंग्ल्यान्डलाई सहज देख्दैन ।

विश्वकप २०२६ले एउटा महत्वपूर्ण पाठ पनि सिकाएको छ । अब फुटबलमा साना र ठूला टोलीबीचको दूरी तीव्र रूपमा घट्दै गएको छ । खेल विज्ञान, डेटा विश्लेषण, आधुनिक प्रशिक्षण, फिटनेस र युवा विकासमा गरिएको लगानीले विश्व फुटबललाई पहिलेभन्दा धेरै प्रतिस्पर्धात्मक बनाएको छ । त्यसैले यस संस्करणमा धेरै चर्चित टोलीहरू अपेक्षाभन्दा चाँडै घर फर्किए भने कम चर्चित टोलीहरूले विश्वभरका समर्थकको मन जिते ।

अब प्रतियोगिता केवल तीन खेलमा सीमित भएको छ । तर, यिनै तीन खेलले अर्को चार वर्षका लागि विश्व फुटबलको नयाँ विजेता तय गर्नेछन् । के लामिन यामालको नेतृत्वमा स्पेन फेरि विश्वको शिखरमा फर्किनेछ ? या एम्बाप्पेले फ्रान्सलाई अर्को विश्वकप फाइनलमा पु¥याउनेछन् ? या त मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप जितेर नयाँ इतिहास रच्नेछ ? वा केन, बेलिङ्घम र साकाको प्रेरणामा इंग्ल्याण्डले ६० वर्षभन्दा लामो प्रतीक्षाको अन्त्य गर्दै विश्व फुटबलको सिंहासनमा पुनः आरोहण गर्नेछ ।

उत्तर अब भविष्यवाणीले होइन, मैदानले दिनेछ । इतिहासले प्रेरणा दिन सक्छ, समर्थकले हौसला दिन सक्छन्, तर, विश्वकपको ट्रफी उठाउने अधिकार अन्ततः त्यही टोलीले पाउनेछ, जसले निर्णायक ९० मिनेटमा आफूलाई सबैभन्दा उत्कृष्ट सावित गर्दै गोल गर्नेछ हामी त मात्र साँची हौँ । टेलिभिजनको स्क्रिन अगाडि बसेर हरेक खेलाडीले गरेको गोलमा रमाउँदै आफूले समर्थन गरेको टिमलाई हौसला बढाउँने त्यसैले प्रतिक्षा गरौँ नयाँ विश्व विजेता पाउनको लागि जुलाई १९ सम्म ।

✍️ – निस्चल आचार्य ( खेल पत्रकार )

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *