हालै प्रकाशित एक अनुसन्धानले नेपाली जनताले आवश्यकताभन्दा बढी आयोडिन सेवन गरिरहेको तथ्य पत्ता लगाएको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस मा प्रकाशित उक्त अनुसन्धानमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा अत्यधिक मात्रामा आयोडिन भेटिएको उल्लेख गरिएको छ।

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (KIAS), त्रिभुवन विश्वविद्यालयको केन्द्रीय रसायनशास्त्र विभाग लगायतका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा उक्त अध्ययन गरेका हुन्। प्रमुख अनुसन्धानकर्ता वसन्त गिरीका अनुसार धनकुटा, सिरहा, कैलाली, रूपन्देही, काठमाडौं, कास्की र चितवनका २,११७ घरबाट संकलन गरिएको नुनमध्ये १,७७७ नमुनामा ५४ पीपीएम (पार्ट्स पर मिलियन) आयोडिन पाइएको छ।

‘हामीले ती जिल्लाका विद्यार्थीलाई तालिम दिएर आफ्नै घरबाट नुन ल्याउन लगाएर परीक्षण गरेका थियौं,’ अनुसन्धानका मुख्य लेखक गिरीले बताए, ‘विश्व स्वास्थ्य संगठन (WHO) ले सुझाएको विधिबाट परीक्षण गर्दा औसत ५४ पीपीएम आयोडिन पाइएको हो।’ परीक्षणमा टाइट्रेसन विधिको प्रयोग गरिएको थियो।

डब्लूएचओका अनुसार घरमा प्रयोग हुने नुनमा आयोडिनको मात्रा अधिकतम १५ पीपीएम हुनु उपयुक्त मानिन्छ। औद्योगिक प्रयोगका लागि भने ५० पीपीएमसम्मको मात्रा स्वीकृत गरिएको छ। आयोडिन सजिलै वाष्प भएर उड्ने तत्व भएकोले उत्पादनदेखि उपभोक्तासम्मको यात्रामा यसको मात्रा घट्ने अनुमानमा आधारित भएर यी मापदण्ड तय गरिएका थिए।

तर, पछिल्लो अनुसन्धानले यी अनुमानहरू अब सान्दर्भिक नदेखिएको देखाएको छ। त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका उपप्राध्यापक भानु न्यौपाने भन्छन्, ‘अब नुनको प्याकिङ, ढुवानी र भण्डारण प्रक्रिया निकै सुधारिएको छ, जसका कारण आयोडिनको मात्रा भान्सासम्म आइपुग्दा पनि अत्यधिक पाइन्छ।’

यस अवस्थाले आयोडिनको अत्यधिक सेवनसम्बन्धी जोखिम बढाएको छ, जसले थाइराइडलगायतका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकाले विशेषज्ञहरूले आयोडिन मापदण्डको पुनरावलोकन आवश्यक रहेको औंल्याएका छन

Similar Posts