काठमाडौं । संस्कृतिविद् तथा ज्योतिषी डा. जगमान गुरुङले प्रधानमन्त्री बालेन शाहको राजनीतिक भविष्य र उनको रहस्यमयी जीवनशैलीसँग जोडिएका केही अनौठा दाबीहरू सार्वजनिक गरेका छन्। एक अन्तर्वार्ताका क्रममा डा. गुरुङले बालेनको पहिरनदेखि उनको सरकारको आयुसम्मका विषयमा रोचक खुलासा तथा भविष्यवाणी गरेका हुन्।
डा. गुरुङका अनुसार प्रधानमन्त्रीको कुर्सीमा पुग्नुअघि बालेनले काठमाडौंको धापासीमा अघोरी बाबाहरूसँग कठोर साधना गरेका थिए। “मैले सुनेअनुसार उनी प्रधानमन्त्री हुनुअघि घरै नगई ७ दिन र ७ रातसम्म अघोरीहरूसँग साधनामा बसेका थिए,” उनले भनेका छन्।
बालेनले सधैं लगाउने कालो कपडा र चस्मालाई पनि डा. गुरुङले अघोरी परम्परा र पूर्वराजा महेन्द्रको शैलीसँग जोडेर विश्लेषण गरेका छन्। कालो कपडा लगाउनु अघोरीहरूको मत भएको र बालेनले पनि त्यही शैली अपनाएको उनको तर्क छ।
वर्तमान राजनीतिक परिवेशको टिप्पणी गर्दै उनले नेपाललाई अहिले एक ‘निरंकुश शासक’ को आवश्यकता रहेको र त्यो छवि बालेनमा देखिएको बताएका छन्। यद्यपि, बालेनको सत्ता यात्रा भने धेरै लामो नहुने डा. गुरुङको भविष्यवाणी छ। “अहिले निरंकुश शासक त बालेन नै देखिएका छन्, तर उनको यो सरकार जम्मा साढे दुई वर्ष मात्र टिक्नेछ,” उनले ठोकुवा गर्दै भनेका छन्। त्यसपछिको राजनीतिक परिस्थिति भने अहिल्यै आकलन गर्न नसकिने उनको भनाइ छ।
डा. गुरुङले गरेका मुख्य ४ दाबीहरू:
अघोरी साधना: प्रधानमन्त्री हुनुअघि बालेन धापासीमा ७ दिन र ७ रातसम्म घरै नगई अघोरीहरूसँग साधनामा बसेका थिए।
सरकारको आयु: बालेन नेतृत्वको वर्तमान सरकार जम्मा साढे दुई वर्ष मात्र टिक्नेछ।
पहिरनको रहस्य: बालेनले लगाउने कालो ड्रेस अघोरी सम्प्रदाय र तत्कालीन राजा महेन्द्रको शैलीबाट प्रभावित छ।
शासकीय शैली: देशलाई अहिले निरंकुश शासक चाहिएको बेला बालेनले सोही ‘निरंकुश’ चरित्र प्रस्तुत गरिरहेका छन्।
#news #rahasya
