चारआली: चर्चित लोक–रक सांगीतिक समूह ‘नेपथ्य’ को आगामी कन्सर्ट ‘नेपथ्य लाइभ इन चारआली २०२६’ लाई लिएर दर्शकमा भारी उत्साह देखिएको छ। कन्सर्टको पहिलो र दोस्रो चरणका टिकटहरू छोटो समयमै ‘सोल्ड आउट’ भएपछि दर्शकको क्रेज प्रष्ट भएको हो। आयोजकका अनुसार पहिलो चरणको (Phase 1) टिकट मात्र ३ घण्टामा सकिएको थियो भने दोस्रो चरणका (Phase 2) सबै भीआईपी (VIP) पासहरू पनि पूर्ण रुपमा बिक्री भइसकेका छन्।

दर्शकको यही उत्साहबीच सार्वजनिक गरिएको कन्सर्टको पोष्टरले भने फ्यानहरूलाई निकै भावुक बनाएको छ। सार्वजनिक सामग्रीमा नेपथ्यका फ्रन्टम्यान (मुख्य गायक) अमृत गुरुङको मर्मस्पर्शी सन्देश राखिएको छ। “तपाईंहरूको माया र आशीर्वादले गर्दा नै अहिलेसम्म गीत गाउँदै आएको छु। लाग्छ, अर्को वर्षदेखि त गीत गाउन सक्दिनँ कि, बुढो भएँ अब। पहिले कालो कपाल थियो, कालो जुँगा थियो, अब जम्मै सेतै भयो,” गुरुङको भनाइ उद्धृत गर्दै पोष्टरमा लेखिएको छ। यस सन्देशसँगै ‘ह्वाट इफ दिस इज योर लास्ट चान्स?’ (के यो तपाईंका लागि अन्तिम अवसर हो त?) भनी गरिएको प्रश्नले यो सांगीतिक साँझलाई अझै विशेष र प्रतीक्षित बनाएको छ।

बज्र इभेन्ट र जेसीआई (JCI) चारआलीको संयुक्त आयोजना तथा नेपालयको निर्माणमा हुन गइरहेको यो कन्सर्ट आगामी कात्तिक २१ गते शनिबार (७ नोभेम्बर २०२६) हातेमालो खेलमैदानमा आयोजना हुनेछ। दर्शकका लागि दिउँसो ४ बजेदेखि नै प्रवेश खुला गरिने र कन्सर्ट ठीक ६ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ।

पहिलो र दोस्रो चरणको टिकट लिनबाट वञ्चित भएका दर्शकहरूका लागि अब अन्तिम चरण (Last & Final Phase) का भीआईपी टिकटहरू छिट्टै खुलाइने तयारी भइरहेको छ। अन्तिम चरणको टिकट बिक्री जुनसुकै बेला सुरु हुन सक्ने भएकाले आफ्ना नोटिफिकेसन अन राख्न र यो अवसर नगुमाउन आयोजकले सम्पूर्ण संगीतप्रेमीहरूलाई आग्रह गरेको छ।

About Admin

B.T.M.Rocks Publication Pvt.Ltd. (www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *